‘यानीमाया लाई उत्कृष्ठ चलचित्र बनाउने गरि काम गर्ने प्रतिज्ञा गर्दछु’- पल शाह
अभिनेता पल शाह पछिल्लो समय निकै व्यस्त रहेका छन्। म्युजिक भिडियो, महोत्सव देखि देश विदेशका कार्यक्रममा उनको व्यस्तता व्यापक रहेको छ । एकपछि अर्को चलचित्रमा पनि पल काम गरिरहेका छन्। आफ्नै होमप्रोडक्सनको पहिलो चलचित्रको घोषणा पनि उनले गरिसकेका छन्।

यहि बीचमा पहिलो पोष्टर सार्वजनिक देखि नै चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’ बाट पल बाहिरिए। निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले शाहसँगको सम्झौता अन्त्य भएको जानकारी सामाजिक संजालबाट दिएको थियो। अव यो बिषयमा पलले पनि आफ्नो स्पष्टिकरण सार्वजनिक गरेका छन् । उनले दुई चलचित्रको सुटिङ्ग सेड्युल एकसाथ जुधेको कारण सहमितमा नै चलचित्र छाडेको उल्लेख गरेका छन्। आउँदो असारको पहिलो हप्ता देखि ६० देखी ७० दिनको सुटिङ सेड्युल बनाएर छायांकनमा जान लागेको चलचित्र र आफ्नो होम प्रोडक्सनको चलचित्र ‘यानीमाया’ को सेड्युल जुध्ने भएको कारण ‘महाराजधिराज’ छाड्न परेको बताएका छन्।
पल लेख्छन्, ‘यानीमायालाई उत्कृष्ठ चलचित्र र तपाईको शिर उच्च बनाउने गरि काम गर्ने प्रतिज्ञा गर्दछु। चलचित्र “महराजधिराज” मा सहकार्यको इच्छा हुदा हुदै पनि समय अभावका कारण यो पटक हामी बिचको सहकार्य हुन सकेन फेरी सहकार्य पक्का हुने छ।’
चलचित्र ‘यानीमाया’ श्राबणको पहिलो साताबाट छायांकनमा जाने पलले उल्लेख गरेका छन्। पल शाहको निर्माण रहने चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन्। सयौ म्युजिक भिडियो निर्देशन र चलचित्रको कथा लेखेका विकासको यो डेव्यु निर्देशकीय चलचित्र हो।