About

सम्पादकीय पछिल्लो दशक अनलाइन पत्रकारितालाई पाठकले निकै रुचाएको देखिन्छ । दुई वर्षअघिबाट फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीमा अनलाइन पत्रकारिताको आवश्यकता र प्रभावलाई विश्वव्यापी रूपमा प्रस्ट्यायो । प्रविधिको प्रयोग र इन्टरनेटको पहुँच सहज हुँदा नेपालमा पनि अनलाइन पत्रकारिताको आवश्यकता र प्रभावकारितालाई व्यापक बनाएको छ । जसलाई हृदयंगमगरी हामीहरू पनि दर्शक र पाठकमाझ एमएनएमनेपाल डटकममार्फत आएका छौं ।

स्वस्तिका फिल्मस् प्रा.लि.ले सञ्चालन गर्ने एमएनएम डटकममार्फत मनोरञ्जन क्षेत्रसहित राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिकलगायतका क्षेत्रमा हुने हरेक क्रियाकलापबारे पाठक र दर्शकलाई अवगत गराउने र सम्बन्धित् निकायलाई जिम्मेवार बनाउन हामी क्रियाशील रहनेछौँ ।

समाचार सम्प्रेषण गर्दा मर्यादित, व्यावसायिक र उत्तरदायी भूमिकामा हामी सचेत रहनेछौं । नेपालको संविधानले अंगीकार गरेका मूल्य मान्यतालाई आत्मसात् गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता, बहुलवाद, प्रेस स्वतन्त्रता, मानवअधिकारलाई आदर्शको रूपमा स्वीकार्दै राज्यका निकायहरू, राज्य सञ्चालकहरू, कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउन प्रयासरत रहनेछौं ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाभिमानको रक्षा पहिलो सर्तको रुपमा लिँदै हामी कुनै पनि राजनीतिक विचारलाई पक्षपोषण वा निषेध गर्नेछैनौँ । हरेक जातजाति, धर्म, वर्ण, लिंग, क्षेत्र, राजनीतिक वाद वा सिद्धान्तका आधारमा कसैलाई निषेध गर्ने र कसैलाई काखी नच्याप्ने प्रण गर्छाैं । तर, उनीहरूका चासोका विषय, जीविकोपार्जनसँग जोडिएका मुद्दाहरू र सुशासन कायम गर्न गराउने कार्य हाम्रो प्राथमिकतामा पर्नेछ । कुनै पनि घटनालाई यथार्थपरक र तथ्यपरक ढंगबाट पस्कनेछौँ ।

पछिल्लो समय मनोरञ्जन क्षेत्रमा आरोपप्रत्यारोप चलिरहेको छ । जसले स्वयं यसक्षेत्रलाई ओरालो लगाउने काम गरेको आममानिसको बुझाइका बीच हाम्रो आगमन भएको छ । हामी यसक्षेत्रमा देखिएका विकृति, विसंगतिको अन्त्यका लागि सम्बन्धित् पक्षलाई सचेत गराउँदै सुधारको बाटो अवलम्बन गराउन सबैलाई प्रेरित गर्नेछौं ।

अन्ततः आमनागरिकको सुखदुःखको सारथि बन्नेछौँ । हाम्रो यात्रा र गन्तव्यमा सबैको आलोचनात्मक सुझावको अपेक्षा गर्छाैँ । हाम्रो यात्रामा आमदर्शक, पाठक, स्रोतासहित सबैको खबरदारी निकै आवश्यक पर्नेछ । यसर्थ सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नेछौँ ।