प्रदीप, रेखा र दीपकराजको साथमा चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव घोषणा


चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आगामी २०८३ फागुन २३ गतेदेखि आयोजना हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको औपचारिक घोषणा गरेका हुन्।

महोत्सवको शुभारम्भ दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए। त्यसैगरी, फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन गरिनेछ। सोही अवसरमा ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगिता पनि आयोजना हुनेछ।

महोत्सवअन्तर्गत कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ। यसका साथै सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवादसमेत आयोजना गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। कर्णाली प्रदेशमा पर्यटकीय, सांस्कृतिक तथा चलचित्र छायांकनका दृष्टिले प्रशस्त सम्भावना रहे पनि ती सम्भावनाको अपेक्षित उपयोग हुन नसकेको आयोजकको भनाइ छ।

‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ नारासहित महोत्सवले ‘गन्तव्य कर्णाली’ अभियानलाई अघि बढाइरहेको छ। कर्णालीका मौलिक कथा, भाषा, भेषभूषा, कला, संस्कृति, जीवनशैली र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु पनि महोत्सवको महत्वपूर्ण उद्देश्य रहेको छ।

कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र सम्भावित छायांकन स्थललाई स्वदेशी तथा विदेशी चलचित्र निर्माता र निर्देशकसम्म पुर्‍याउने, स्थानीय कलाकार तथा चलचित्रकर्मीको पहिचान स्थापित गर्ने र गाउँगाउँमा नेपाली चलचित्र प्रदर्शन गर्ने योजना महोत्सवले अघि सारेको छ। चलचित्र साक्षरता अभियान सञ्चालन गर्नुका साथै चलचित्र क्षेत्रका चुनौती र सम्भावनाबारे बहस तथा छलफलसमेत गरिने आयोजकले जनाएको छ।

महोत्सवमा पर्यटन र जलवायु परिवर्तनसम्बन्धी सन्देश दिने चलचित्रलाई विशेष सम्मान तथा प्रोत्साहन गरिनेछ। संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने महोत्सव रेडचेरी र टिमले सुरु गरेका हुन्।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोपबहादुर बिसी, निर्माता तथा निर्देशक दीपकराज गिरी, आकाश अधिकारी, रेखा थापा, किफका सद्भावना दूत तथा अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन, प्रेम पुरी, लेखक तथा निर्देशक रामशरण पाठक र कलाकार हिमेश पन्तलगायत चलचित्रकर्मीको उपस्थिति थियो।

कार्यक्रममा महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्र पर्यटन र जलवायु परिवर्तनको मुद्दालाई यसपटक पनि प्राथमिकताका साथ अघि बढाइने बताए। कर्णालीका पर्यटकीय तथा धार्मिक स्थललाई अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसम्म चिनाउने र स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अवसर प्रदान गर्ने लक्ष्य महोत्सवले लिएको उनको भनाइ थियो।

त्यस्तै, किफका सद्भावना दूत प्रदीप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए। सिनेमा र पर्यटनलाई सँगसँगै अघि बढाउन महोत्सवले निरन्तर नेतृत्वदायी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

अभिनेता तथा निर्देशक दीपकराज गिरीले आफू काठमाडौंको रैथाने भए पनि कर्णालीले सधैँ आकर्षित गर्दै आएको बताए। उनले आगामी दिनमा कर्णालीका सुन्दर स्थानमा नेपाली चलचित्र छायांकन गर्न सकिने सम्भावनासमेत औँल्याए।

कर्णालीको प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्