‘ककाकिकी’को प्रिमियरमा हाँसोको फोहोरा, चलचित्रकर्मीले गरे खुलेर प्रशंसा
नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका छन्। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरक शैली, मेहनत र कलाकारहरूको अभिनयले उपस्थित चलचित्रकर्मीको ध्यान खिचेको थियो।

कमेडी जनरामा निर्माण भएको चलचित्रका विभिन्न दृश्यमा दर्शक तथा चलचित्रकर्मीहरू हाँसोले रमाएका थिए। चलचित्र हेरिसकेपछि उपस्थित कलाकारहरूले यसको कथा भन्ने शैली र मनोरञ्जनात्मक प्रस्तुतिलाई रुचाउँदै ‘ककाकिकी’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।
प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतको उपस्थिति रहेको थियो।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए। चलचित्र निर्माणका क्रममा आफ्नो टिमले निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकमाझ पुग्ने समय आएको बताए। शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले खुसी बनाएको बताएका छन्। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘ककाकिकी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यससँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। हास्यप्रधान विषयवस्तुमा आधारित चलचित्रलाई परिवारका सबै सदस्यले एकसाथ बसेर मनोरञ्जन लिन सक्ने निर्माण टिमको विश्वास छ।
को–को छन् चलचित्रमा ?
चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको रहेको छ भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्।







