‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने
यो शुक्रबार अर्थात् मङ्सिर ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारथी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। मंगलबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो। यससँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

निर्देशक कुमार गजुरेलका अनुसार सेन्सर बोर्डका पदाधिकारीहरूले समेत चलचित्रको पारिवारिक कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन्। चलचित्रका टिजर, गीत तथा ट्रेलरलाई पनि दर्शकले रुचाएका छन्।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्माको मुख्य भूमिका रहेको छ। त्यस्तै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापालगायतका कलाकारको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन्। संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ।







