‘सिन्दुरे जात्रा’मा अञ्जना बराइलीको मौन विद्रोह, महिलामाथि समाजको दृष्टिकोणमाथि प्रश्न उठाउदै
अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले बलियो चलचित्र रहेको बताएकी छन्। चलचित्रको नाम सुन्नेबित्तिकै आफूलाई आकर्षित गरेको बताउने अञ्जना कथा पढेपछि यसमा काम गर्ने निर्णयमा पुगेकी हुन्। अञ्जनाका अनुसार ‘सिन्दुरे जात्रा’ महिलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण, महिलाको अवस्था र समाजमा उनीहरूप्रति स्थापित धारणालाई चलचित्रले प्रस्तुत गर्ने उनको भनाइ छ।

चलचित्रमा जोडिनुको कारणबारे कुरा गर्दै अञ्जनाले नामले नै आफूलाई आकर्षित गरेको र कथा पढेपछि चलचित्रमा काम गर्ने इच्छा अझ बढेको बताइन्। कथा पढेपछि समय मिल्यो भने आफू पनि यस चलचित्रको हिस्सा बन्ने सोच बनाएको र सोहीअनुसार अनुबन्ध भएको उनले खुलाएकी छन्।
‘सिन्दुरे जात्रा’मा आफूले निर्वाह गरेको भूमिका र चलचित्रले उठाउन खोजेको विषयलाई लिएर अञ्जनाले यसलाई मौन विद्रोहका रूपमा व्याख्या गरेकी छन्। यद्यपि, कस्तो प्रकारको विद्रोह हो भन्ने विषयमा भने उनले धेरै खुलाउन चाहिनन्।
सरोज पौडेलको निर्देशनमा बनेको यस चलचित्रले महिलाका विषयमा समाजको सोच र धारणामाथि प्रश्न उठाउने उनको भनाइ छ। चलचित्रले कुनै एउटा पक्षलाई सही वा गलत साबित गर्न खोज्नुको सट्टा दर्शकलाई आफैँ सोच्न बाध्य बनाउने अञ्जनाले बताएकी छन्।
“हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ।”
उनका अनुसार चलचित्रले न्यायाधीश बनेर कुनै पक्षको समर्थन वा विरोध गर्ने प्रयास गरेको छैन। बरु समाजमा महिलालाई हेर्ने दृष्टिकोण कत्तिको उचित छ भन्ने प्रश्न दर्शकमाझ राख्ने प्रयास गरिएको छ। यस अर्थमा ‘सिन्दुरे जात्रा’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक विषयवस्तुमाथि बहस सिर्जना गर्ने चलचित्रका रूपमा पनि रहेको उनको भनाइ छ।
यसैबीच, चलचित्र ‘सिन्दुरे जात्रा’लाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’सँग तुलना हुन सक्ने विषयमा पनि अञ्जनाले आफ्नो धारणा राखेकी छन्। ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गरेका केही कलाकार, निर्देशक तथा प्राविधिक यस चलचित्रमा जोडिएको भए पनि दुवै चलचित्रको कथा फरक रहेको उनले स्पष्ट पारेकी छन्।
उनका अनुसार ‘सिन्दुरे जात्रा’मा ‘पूर्ण बहादुरको सारङ्गी’का केही कलाकार र प्राविधिक मात्रै दोहोरिएका हुन्। चलचित्रमा थुप्रै नयाँ कलाकार, निर्माता तथा प्राविधिक पनि जोडिएका छन्। त्यसैले ‘सिन्दुरे जात्रा’लाई ‘पूर्ण बहादुरको सारङ्गी’को सिक्वेल वा त्यसैको कथासँग मिल्दोजुल्दो चलचित्रका रूपमा बुझ्न नहुने उनको तर्क छ।
सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अञ्जना बराइलीसँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् भने यसको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत सुन्न सकिनेछ। मंसिर १८ गतेदेखि चलचित्र प्रदर्शनमा आउनेछ ।







