पहिलो झलकमा यस्तो देखियो महेश र अञ्जनाको ‘आशा’
चलचित्र ‘आशा’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलक संगै निर्माण टिमले नयाँ रिलिज मिति पनि तय गरिएको छ । माघ १ गते रिलिज मिति तय गरिएको चलचित्र अव फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ । पहिलो झलकमा चलचित्रका प्रमुख तीन पात्रहरु महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । चलचित्रको पोष्टर रोयल भीमसेनले तयार पारेका छन् ।
उडान स्टुडियोको प्रस्तुती रहेको चलचित्रलाई शर्मिला थापाले निर्माण गरेकी हुन् । उनले चलचित्रको कथा अनुसार नै पोष्टर तयार पारेको बताएकी छिन् । उनले भनिन्,‘चलचित्र पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्न पर्ने चलचित्र बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई चलचित्रको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा वसुल हुन्छ ।’
राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।







