सलमानको ‘सुल्तान’ छायांकन गरेका आर्टुरले खिच्ने भए प्रदीपको ‘२६ करोड’


अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘२६ करोड’को छायांकनका लागि अन्तर्राष्ट्रिय अनुभव बोकेका छायांकार आर्टुर जुराव्स्की नेपाल आइपुगेका छन्। पोल्याण्डका चर्चित छायांकार आर्टुरले बलिउडका सफल चलचित्र ‘सुल्तान’, ‘मर्दानी’ र ‘भूमि’मा छायांकन गरेका छन्। शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारदेखि चलचित्रको वर्कसपमा समेत सहभागिता जनाइसकेका छन्। विकास सुवेदीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन मंसिर १५ गतेदेखि सुरु हुने निर्माता सुभाष भुषालले जानकारी दिएका छन्।

आर्टुरले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड तथा दक्षिण कोरियाका चलचित्रमा काम गरिसकेका छन्। यसअघि उनले विकास सुवेदी निर्देशित नेपाली चलचित्र ‘सिरजरा’मा पनि छायांकन गरेका थिए। ‘२६ करोड’ उनीहरूको दोस्रो सहकार्य हुनेछ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रमा प्रदीप खड्का र बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी सारा अरएल शाह मुख्य भूमिकामा रहनेछन्। चलचित्रको लेखनसमेत निर्देशक सुवेदीकै रहनेछ भने संगीत सुभाष भुषालले तयार गर्नेछन्।

आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको घोषणा गत असोजमा मुम्बईस्थित ताज ल्याण्ड्स इन्ड होटलमा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता विवेक ओबेरोयसमेत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्