चलचित्र ‘३६ को आँकडा’ को नयाँ गीत ‘जति उड्दै गयो’ सार्वजनिक


चलचित्र ‘३६ को आँकडा’ को नयाँ गीत ‘जति उड्दै गयो’ सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वर रहेको गीतमा अभिनेत्री निरुता सिंह, रेखा थापा र पूजा शर्मालाई एकसाथ प्रस्तुत गरिएको छ। नेपाली चलचित्रका तीन फरक पुस्ताका लोकप्रिय अभिनेत्रीलाई एउटै गीतमा देख्न पाउनु यस गीतको विशेष आकर्षण बनेको छ।

चलचित्र सबिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको हो। चलचित्रमा रेखा थापा र पूजा शर्मा दुई दिदीबहिनीको भूमिकामा देखिनेछन्। उनीहरूबीचको द्वन्द्व र त्यसको पछाडिको कारण चलचित्रको मुख्य कथावस्तु रहेको जनाइएको छ।

रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडी चलचित्रमा देखिनेछ। लामो समयपछि निरुता सिंह र रेखा थापा पनि एउटै चलचित्रमा देखिन लागेका हुन्। चलचित्रमा सुवर्ण थापा र रमेश चन्द सिडारीको समेत अभिनय रहेको छ भने निशा अधिकारी विशेष भूमिकामा देखिनेछिन्।

रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ निर्माता रहेका छन्। शिवम् अधिकारीले पटकथा लेखेका छन्।

आगामी मंसिर १७ गते अर्थात् डिसेम्बर ३ देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘३६ को आँकडा’ले तीन अभिनेत्रीको सहकार्य र पारिवारिक कथामार्फत दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्