‘ऊनको स्वीटर’ को नयाँ कीर्तिमान, सवै गीत करोड क्लबमा


चलचित्र ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ । प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।

साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । यो समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख (२१ मिलियन) भ्यूज, ‘मखमली’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज, ‘काफ्ले’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन् ।

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । “नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ,” आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ । यो चलचित्र हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्