सकियो दया र मिरुनाको ‘जारी २’ छायांकन, दशैंमा रिलिज तयारी
सफल चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को छायांकन सकिएको छ। उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्रको सम्पुर्ण छायांकन पाँचथरमा गरिएको छ। ३६ दिनमा प्याकअप भएको चलचित्र दशैँमा रिलिज हुँदैछ। निर्माण कम्पनी बाँसुरी फिल्मस्ले चलचित्र दशैमा रिलिज हुने बताए पनि कुन मितिमा भन्ने खुलाएको छैन। फूलपातीमा यस अगाडी नै धेरै चलचित्र रिलिजको तयारीमा रहेको कारण पनि यसको अगाडी वा पछाडी चलचित्र रिलिज हुने सम्भावना रहेको छ।

छायांकन सकिएसँगै निर्माण टिमले मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।

यो चलचित्रको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रमा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।