‘शुभ विवाह’ मा सहकार्य गर्दै प्रदिप र सुदर्शन, अभिनेत्री को ?


निर्देशक सुदर्शन थापा र अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रेमगीत’ मा सहकार्य गरेका थिए। यहि चलचित्रबाट प्रदिप र अभिनेत्री पूजा शर्माको करियरले नयाँ मोड लियो। निर्देशक सुदर्शन थापाले पनि केहि असफल चलचित्रको यात्रा तोडे र दर्शकमाझ तिनै जना स्थापित भए। तर चर्चाको शिखरमा रहदा प्रदिप र सुदर्शनको सम्बन्ध चिसियो। पूजाको पनि प्रदिपसंग सम्बन्ध चिसियो र दुई ध्रुव भए। छुट्टाछुटै चलचित्रमा काम गरे पनि यी तीनको सहकार्य हुनुपर्ने चाहाना धेरै दर्शकले राखे। बर्षौ चिसिएको सम्बन्ध अहिले सुध्रिएको छ।

यहि बीचमा प्रदिप र सुदर्शनको सहकार्यको चर्चा चलेको पनि केहि बर्ष भयो। प्रदिप आफ्ना विग्रिएका पुराना सम्बन्ध सुधार्दै धेरै चलचित्रमा काम गर्ने गरिरहेका छन्। अब सुदर्शन र प्रदिप बीच चलचित्र ‘शुभ विवाह’ मा सहकार्य हुनेछ। सुदर्शनको नै निर्माण रहने चलचित्रका लागी प्रदिप र सुदर्शनले गएको बर्ष नै सम्झौता गरेका थिए। यो चलचित्रमा अभिनेत्रीको बारेमा अहिलेसम्म टुंगो लागेको छैन। निर्माण टिमले चाडै अभिनेत्री र अन्य कलाकार सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्