‘अभिमन्यु : च्याप्टर–१’ को प्रचार: यतिमानवको एआई भिडियोको रोचक यात्रा
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो । रहस्यमयी हिममानव यति चलचित्र हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा चलचित्र हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्ति सहितको एआई भिडियो छ ।

अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्ने र यो चलचित्र भदौ २७ मा लाग्छ भनेको देखिन्छ । ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा निर्माणपक्षले सहजै बनाएर चलचित्रको प्रचारमा प्रयोग गरिरहेको छ ।
चलचित्रको प्रचारमा किन यतिको प्रयोग गरियो र यसको चलचित्रसंगको सम्बन्ध बारे निर्माण पक्षले खुलाएको छैन। चलचित्रको यसअघि नै काउन्ट–डाउन सुरु गरिसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट–डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।

चलचित्रको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा चलचित्र निर्माण भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।’ अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।