‘मोहर’को शिर्ष गीतमा पल र नीतिको प्रेम


अभिनेता पल शाह र अभिनेत्री नीति शाहले पहिलोपटक सहकार्य गरेको चलचित्र ‘मोहर’ को पहिलो गीत सार्वजनिक भएको छ। काठमाण्डौंमा आयोजना गरिएको पत्रकार सम्मेलनका बीच ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको हो। शरद हुमागाँई र विशाखा शाहीको स्वर रहेको गीतमा प्रमोद ढुंगानाको शब्द र सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको चलचित्रको यो भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै नायक पल शाहले यो गीतको भिडियो छायांकनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुशी लागेको बताए । आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेको पनि पल शाहले संझिए ।
नायिका नीति शाहले पनि गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन् । चलचित्र साउन २३ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्