‘माग्ने राजा’ को पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय
चलचित्र ‘माग्ने राजा’ को पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ। आज राजधानीको प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्र आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । चलचित्रका सार्वजनिक पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा चलचित्रका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।
निर्देशक लामिछाने ८ बर्षपछि निर्देशनमा फर्किएका हुन्। निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। निर्देशक लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरुले निर्माण सहकार्य गरेका दुई चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए । निर्देशक लामिछाने आफुहरुको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी गरेका छन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।