बिहे कहिले त ?
शहर या गाउँ, शिक्षित वा साक्षरबाट एउटा उमेर पार गरेपछि अधिकांशले एउटा प्रश्नको सामना गर्नुपर्ने हुन्छ । पुरुषले २५ र महिलाले २२ वर्षको उमेर कटेपछि बारम्बार सुन्ने प्रश्न हो, अनि बिहे कहिले त ? परिवार, आफन्त, छिमेकी, साथीभाइ हरेकले सधँै तयारी अवस्थामा राखेको यो प्रश्नको सामना धेरैले धेरै पटक गरिसक्नु भयो होला । अझ घरभन्दा बाहिर बसेका हामीजस्ता घर जाँदा बाटोमा, आफन्तकोमा सामना गरिने शीर्ष तेस्रो प्रश्नमा बिहे जोडिएकै हुन्छ । पहिलो हालखबर, दोस्रो कामको स्थितिको प्रश्न गरेपछि जोडिने प्रसंग बिहे नै हो ।

यो प्रश्नको सामना गर्नेमध्येको एक म पनि हुँ । करिब पाँच वर्षदेखि यो प्रश्नको सामना गर्दै आएको छु । यो प्रश्न गर्नेले लिने आधार फरक फरक होला । तर, अधिकांशको भने वंश निरन्तरताको अपेक्षा नै होला । हाम्रो समाजमा वंश अगाडि बढाउन र एक्लोपनको अनुभूति नहोस् भनेर बुझाउने एकै सहाराको रुपमा विवाहलाई लिएको देखिन्छ ।
काठमाडौँको धुलोधुवाँ, भीडभाड र अस्तव्यस्तबाट दिक्क भएर रमाउन गृहजिल्ला इलाम पुग्ने गर्छु । बिहे कहिले त ? भन्ने प्रश्नको घेरा पर्छु । वर्षमा त्यति धेरै इलाम फर्कने गरेको त छैन, तर जति पटक पुग्छु बिहेको प्रश्नले घेरिएकै हुन्छु । म मात्र होइन, मेरो उमेर समूहका हरेक अविवाहितले यो प्रश्नको सामना गर्नुपरेको हुन्छ । जीवनको एकदमै महत्त्वपूर्ण र गर्ने पर्ने विषयमा विहेलाई यो समाजले राखिदिएको छ । मलाई कहिलेकाहीँ आफैँ हुर्किएको त्यो पखेरो, हिँडेका ती उकाली ओराली अनि सुसाएका खोला, खोल्साले पनि यही प्रश्न गरिरहेजस्तो लाग्छ । आमाको हाँसो, बाबुको आँखाले पनि अब त बिहे गरे हुने भन्ने आभाष बारम्बार गराइरहेको हुन्छ ।
तर, विवाह के प्रश्न गरेजस्तै अनि अरुले भनिदिएजस्तै सहज छ त २ दुई फरक मनको समागम, विचार, अनुभूति र सोचाइको मिलन कहाँ त्यही सहज होला र । फेरि अरुले भनेको, चाहेको बेलैमा बिहे गर्ने पर्छ भन्ने पनि त नहोला नि । विवाह नितान्त व्यक्तिगत कुरा हो । कसैको व्यक्तिगत विषयमा अरुले कति चासो राख्ने भन्ने पनि होला । विवाह कहिले हुन्छ भन्ने चासो राख्नेहरुले विवाहपछिको जीवन कस्तो छ, कुनै अप्ठ्यारो त परेको छैन ? भनेर आत्मियता देखाएको देखिँदैन । तर, विवाह कहिले गर्ने भन्ने प्रश्न भने अधिकांशले गरेर कसैको व्यक्तिगत विषयमा अनावश्यक चासो राख्ने कार्य कत्तिको उचित हो ?
केही वर्ष अगाडि यस्ता प्रश्नबाट भाग्ने म आजकल सहज रुपमा पचाउन थालेको छु । पहिले–पहिले सुन्दा हल्का उठ्ने रिस पनि आजकल शान्त छ । सायद एकै प्रश्न बारम्बार सुनेर होला, अब यो प्रसङ्ग निस्किन्छ भनेर पहिले नै तयार हुन्छ मस्तिष्क, अनि जवाफ हुन्छ मन्द मुस्कान अनि समय आएपछि विवाह गरौँला नि ।
समयको यात्रामा जीवनमा जे हुन्छ त्यो हुँदै जान्छ, विवाह पनि त्यस्तै होला । आवश्यकता महसुस भयो र समयले आफूलाई सही लागेको व्यक्ति भेटायो भने पक्कै पनि विवाह होला नै ।