२५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’ को छायांकन
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’ छायांकन २५ दिनमा सकिएको छ । जेठ २२ गतेबाट छायांकन सुरु भएको चलचित्रलाई बलराम चौहानले निर्देशन गरेका छन्। काठमान्डौ आसपासमा नै चलचित्र खिचिएको छ। निर्देशनमा डेव्यु गरेका बलराम चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन्।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

यो चलचित्रको थिम पोस्टर र फस्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी थिइन् । जसमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको थियो । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
यस्तै, छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा चलचित्रकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल थिइन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी थिइन् ।
‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट-प्रडक्सनको काम अघि बढ्छ,‘ निर्देशक चौहानले भने ’कालाकारहरुको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो चलचित्र देखाउने छौं ।’
चलचित्रका कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्र सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।