निर्मला घिसिङको आवाजमा तामाङ भाषाको प्रेम गीत ‘जालमाया’ को नयाँ संस्करण
गायिका निर्मला घिसिङको आवाजमा रहेको तामाङ भाषाको प्रेम गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ । उनलाई यो गीतमा गायक रमण थामीले आवाजमा साथ् दिएका छन्। तामाङ चलचित्र ‘जालमाया’ को शीर्ष गीत रहेको यस गीत विक्रम संबत २०६० सालमा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । चलचित्र निर्माता सन्तलाल घिसिङले रचना गरेको गीतमा कुबेर दोङको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।

गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । करिब २२ वर्षपछि रेकर्ड गरिएको ‘जालमाया’ को नयाँ संस्करणलाई भने पवनवाङ लामाले सङ्गीत संयोजन गरेका छन् । तामाङ समुदायको बाक्लो बस्ती रहेको रसुवा र धादिङ जिल्लाको सुन्दर प्राकृतिक स्थलमा छायाँकन गरिएको गीतको भिडियोलाई रोशन फ्युबाले निर्देशन गरेका छन्। प्रतीक ङ्यासुरको कोरियोग्राफि रहेको गीतको भिडियोमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय रहेको छ।
काठमाडौँ वरिपरिका जिल्लाहरूमा मुख्य बसोबास रहेको तामाङ समुदायमध्ये उत्तर-पश्चिम दिशाको पहाडी क्षेत्रतर्फ बसोबास गर्ने तामाङ समुदायको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधता र मौलिक पहिरनलाई ‘जालमाया’ गीतमार्फत हेर्न सकिन्छ ।