‘यानी माया’ मा पल शाहको जोडी अन्जना पुन
अभिनेता पल शाहको निर्माण र प्रमुख भूमिका रहने चलचित्र ‘यानीमाया’ मा अभिनेत्रीको रुपमा अञ्जना पुन फाइनल भएकी छिन्। मोडलिङमा सक्रिय अञ्जनाको यो देव्यु चलचित्र हो। उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जितेकी छिन्। २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् ।

म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छिन्। उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१००% सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् । पल शाहसंग केहि भिडियोमा सहकार्य गरेकी अञ्जनासंगको जोडी दर्शकले रुचाएका छन्। पल शाह फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन्। यो उनको डेव्यु चलचित्र हो।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।
पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।