फागुन १ मा किन चल्दै छ चलचित्र रिलिजको हानथाप?
नेपाली चलचित्र बजार यति बेला सुस्ताएको छ। यो वर्ष वैशाख महिनामा चलेको ‘ऊनको स्विटर’ बाहेक अन्य अपेक्षा गरिएका चलचित्रले पनि व्यापारिक माहोल तताउन सकेका छैनन्। अपेक्षा गरिएका चलचित्रले पनि सोचे जस्तो व्यापार नगर्दा अव आउने चलचित्रलाई निकै चासोका साथ हेरिएको छ। असार-साउन कम चलचित्र रिलिज हुने समय हो। विशेष गरी बिदा, दशैँको समयमा चलचित्र रिलिजको हानथाप हुने गर्दछ। दशैँमा यो वर्ष चलचित्र बिचको भिडन्त रोचक हुने र यस बारे समाचार र गसिप बन्ने सुरुवात भएको लामै समय भयो।

तर अर्को एउटा मिति रहेको छ जसमा चलचित्रको भिडन्त रोचक हुने देखिएको छ। फागुन १ गते अहिलेसम्म ४ चलचित्र रिलिज मिति तय गरिसकेका छन्। ‘डबल ट्रिपल’, ‘कल्ली’, ‘लालीबजार’ र ‘जहाजैमा’ ले अहिलेसम्म यो मितिलाई प्रदर्शन तय गरेका छन्। यी सबै चलचित्र चर्चा र व्यावसायिक सफलताको हिसाबले पनि सफल रहने अपेक्षा गरिएको छ । तर एकै मितिमा ४ चलचित्र रिलिज हुँदा व्यापारमा पर्ने असर पक्का रहेको छ। यो मितिमा अन्य केही चलचित्रले पनि रिलिजको चासो देखाइरहेको बुझिएको छ।
किन यो मितिमा चलचित्र रिलिजका लागी निर्माताहरू हानथाप गरिरहेका छन् ? उल्लेख्य बिदा रहेका कारण यो मितिमा चलचित्र रिलिज गर्न निर्माताले यति धेरै चासो राखेका हुन्। फागुन १ गते शुक्रवार रहेको छ । २ गते शनिवार र ३ गते महाशिवरात्रिको बिदा रहेको छ। त्यस्तै फागुन ६ गते ग्याल्पो ल्होछार र ७ गते प्रजातन्त्र दिवसको बिदाका रहेको छ। एकै हप्तामा परेको यति धेरै बिदाका कारण यो मितिमा चलचित्र रिलिज गर्न निर्माताको हानथाप चलेको हो।
बिदामा दर्शकले चलचित्रलाई साथ दिने अझ चाडपर्वको समयमा नेपाली चलचित्रलाई दर्शकले दिल खोलेर साथ दिने गर्दछन्। तर एकै मितिमा ४ चलचित्र रिलिज हुनु आफैमा नेपाली चलचित्र क्षेत्रका लागी भने दुर्भाग्यको विषय हो।