क्याप्टेन रामेश्वर थापाको बायोग्राफी ‘क्याप्टेन साब’ मा खगेन्द्र र सुरक्षाको जोडी


चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा तयार हुने चलचित्रलाई दिपेन्द्र के खानलले निर्देशन गर्नेछन् । रामेश्वर पाइलट तथा संचार उद्यमी हुन्। बिहीबार काठमाडौंको गौरीघाटमा चलचित्रको शुभमुहूर्त गरिएको हो । मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो क्ल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।

पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । दिपेन्द्र, खगेन्द्र र सुरक्षाले चलचित्र ‘धनपती’ मा एकसाथ काम गरेका थिए। उक्त चलचित्रपछि यी तीनको एकसाथ दोश्रो सहकार्य हो । भदौको पहिलो साताबाट छायांकनमा जाने चलचित्रलाई काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा खिचिनेछ। कृष्णबहादुर थापाले चलचित्रको छायांकन गर्नेछन् ।

“क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,” निर्देशक खनालले भने, “क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।”
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

प्रतिक्रिया दिनुहोस्