डिमाण्डमा धिरज मगर, एकपछि अर्को चलचित्रमा काम गर्दै
नायक धिरज मगर बेलायतमा भ्लगिङ्ग गरिरहेका थिए। निर्देशक रेनशा वान्तवा राईले बेलायत पुगेको बेला उनलाई नेपाली चलचित्रमा भित्र्याउने निर्णय गरिन्। त्यो निर्णयले नेपाली चलचित्र क्षेत्रमा एक नयाँ नायकको जन्म भयो। रेनशा पहिलो चलचित्रबाट नै अब्बल निर्देशकको रूपमा स्थापित भइन्। ‘इन्टु मिण्टू लन्डनमा’ डेव्यु नायक यति बेला नेपाली चलचित्र क्षेत्रका खोजिने नायकमा पर्छन्।

उनको डिमान्ड नेपाली चलचित्र क्षेत्रमा अहिले उचाइमा रहेको छ। व्यावसायिक हिसाबले बिचका केही चलचित्र सफल नभए पनि धिरजको माग नेपाली चलचित्र क्षेत्रमा कम भएको छैन। मेकर्सहरु उनलाई आफ्नो चलचित्रमा दोहोर्याउन लालायित देखिन्छन्। उनको काम प्रतिको लगाव, सरल व्यवहारका कारण निर्माताहरू उनीसँग काम गर्न सहज महसुस गर्ने प्रतिक्रिया दिने गर्दछन्।
दसैँको फूलपातीको उनको अभिनय रहेको चलचित्र ‘माइतीघर’ रिलिज हुँदै छ। चलचित्र ‘ऐरी’ छायाङ्कनको क्रममा रहेको छ । यो चलचित्र प्रदीप खड्का र सोनाम तोप्देनको पनि अभिनय रहेको छ। चलचित्र ‘कुस्ती’ रिलिजको तयारीमा रहेको छ। ‘मैझारो’ , ‘जलाकी’ र ‘भाइटिका’ चलचित्रमा काम गर्ने सम्झौता उनले गरिसकेका छन्। मेकर्सहरु उनलाई चलचित्रमा अनुबन्ध गराउन स्क्रिप्ट लिएर पुग्ने गरेका छन्। बिचको केही समयमा आफ्नो करियरलाई कसरी अगाडी बढाउने भन्ने अन्योलमा धिरज देखिएका थिए । तर अहिले भिन्न मेकर्स र टिमसँग उनले काम गरिरहेका छन्। यसले उनको करियरलाई थप अगाडी बढाउने निश्चित देखिन्छ ।