केदार घिमिरेलाई ‘माग्ने राजा’ को भूमिकामा हेर्न उत्साहित बर्षा शिवाकोटी
नेपाली चलचित्र क्षेत्रमा अहिले सावधिक व्यस्त रहेकी अभिनेत्री हुन्, बर्षा शिवाकोटी। उनि पछिल्लो समय एकपछि अर्को चलचित्रमा अनुबन्ध भैरहेकी छिन्। ‘नाइँ नभन्नू ल २’ डेव्यु’ गर्ल शिवाकोटीले आफ्नो करियरमा धेरै उतारचढाव भोगिन्। व्यावसायिक असफलता र सफलताको बीचमा उभिएकी बर्षाको नयाँ चलचित्र ‘माग्ने राजा’ रिलिजको तयारीमा रहेको छ। भदौ ६ गते रिलिज हुने चलचित्र ‘माग्ने राजा’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ देखिँदैछिन् ।

‘मलाई चलचित्रमा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ । किनकी राम्रो टिमको लोभ थियो । केदार दाईसँग मैले ‘छक्का पन्जा ५’ मा सहकार्य गरिसकेकाले पनि म ‘माग्ने राजा’मा काम गर्न राजी भएँ,’ वर्षा भन्छिन् । पहिलोपटक केदार ‘माग्ने राजा’ मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित रहेको उनले खुलाइन् ।
उनले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमव्याक गरेको र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै चलचित्रमा काम गरिसकेकाले चलचित्रमा केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन् ।
सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ । ‘चलचित्रको कथावस्तु नै फरक छ । मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरुले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो । तर उहाँहरुको सोचाई अनुसार नै मैले काम गरेकी छु,’ वर्षा भन्छिन् ।
वर्षाले निर्माण पक्षको योजना अनुसार नै चलचित्र बनेकाले सिनेमा सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । ‘निर्माता र निर्देशकको योजना अनुसार नै काम भएको छ । टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ । हामी यति लामो समयदेखि व्यवासायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने भयो । उहाँहरुको काम गराई देखेपछि काम गर्न पनि सजिलो भयो,’ उनी भन्छिन् ।
चलचित्रले कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाई छ । ‘चलचित्रले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । चलचित्रले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चत्रिण गरको छ । चलचित्रले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ,’ वर्षाको भनाई छ ।