नाजिरको ‘गुन्यो चोलो’ भदौ १३ गते आउने, पहिलो गीतलाई दर्शकको प्रशंसा
अभिनेता नाजिर हुसैनेले पारालैंगिक महिलाको भूमिका निर्वाह गरेको चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ लाई पोस्टर रिलिज देखि दर्शक र चलचित्रकर्मीले चासोको साथमा हेरिरहेका छन्। १६ किलो बढी तौल घटाएर पात्रमा आफूलाई ढलेका नाजिरको चलचित्रले रिलिज मिति तय गरेको छ । चलचित्रको पहिलो गीत रिलिज गर्दै भदौ १३ गतेलाई रिलिज मिति तय गरिएको हो। चलचित्रमा समावेश ‘म फूल हुँ कि काँडा’ बोलको गीत हिजो एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो। लेखु सहयात्रीको शब्द रचना र सङ्गीत रहेको गीतमा मनीषा पोखरेलको स्वर रहेको छ। यो गीतमा नाजिरले महिलाको पहिरन लगाएर नृत्य गरेका छन्।

उनको प्रस्तुति, एक्सप्रेसन र मिहेनतको प्रशंसा यति बेला भइरहेको छ। भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ। सामाजिक सञ्जालमा उनको लागी दर्शकले प्रशंसाको शब्द खर्चिरहेका छन्। भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ , विशाल पहारी, निशा बजगाईँ, उत्तम केसी लगायतका कलाकारको अभिनय रहेको छ। नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याक ग्राउन्ड म्युजिकसम्मको काम बाहिरै गरिएको छ ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याक ग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त निर्माणमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।