‘केटी हराएको सूचना’ बंगलादेशमा रिलिज , प्रिमियरमा नाजिर सहभागी
माघ ११ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘केटी हराएको सूचना’ बंगलादेशमा रिलिज भएको छ। बंगलादेशका हलहरुमा शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएको छ। मल्टीप्लेक्स चेन स्टार सिनेप्लेक्सको ढाकासहित अन्य सहरका हलमा चलचित्र प्रदर्शन हुने भएको छ। यो बंगलादेशमा रिलिज हुने पहिलो नेपाली चलचित्र हो।

नेपाली र अंग्रेजी सबटाइटलमा रिलिज भएको चलचित्रलाई बंगलादेशमा ‘शो मोसन लिमिटेड’ले ‘साउथ एसियन फ्रि ट्रेड एग्रिमेन्ट’ (साफ्टा) अन्तर्गत आयात गरेको हो । त्यसबापत तनीम रहमान अंशुद्वारा निर्देशित तथा सरीफुल रन र सुनेरा बिन्ते कमाल अभिनीत बंगलादेशी चलचित्र ‘नो दोराई’ नेपालका हलमा रिलिज गर्ने सहमति भएको छ।

बिहिबार चलचित्रको स्टार सिनेप्लेक्सको एयरपोर्ट शाखामा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा निर्देशक दीपेन्द्र गौचन र अभिनेता नाजीर हुसेन उपस्थित थिए । चलचित्रमा नाजिरसहित सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी लगायतको अभिनय रहेको छ ।