‘होस्टेल ३’ टिमले घोषणा गर्यो ‘होस्टेल अगेन’


चलचित्र ‘होस्टेल ३’ को सफलतापछि सोहि निर्माण समुहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरेको छ । नयाँ कलाकारलाई स्थापित गर्ने सिरिजको रुपमा परिचित चलचित्रको नयाँ शृंखलाको घोषणा सामाजिक संजाल मार्फत गरिएको हो। एक पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्रले सस्पेन्स, थ्रिलको संकेत गरेको छ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखाइएको छ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । ‘होस्टेल’ को नाम भए पनि ‘अगेन’ थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल ३’ बाट कथावस्तुको निरन्तरता छ वा छैन भन्ने स्पष्ट नभए पनि यसले ‘होस्टेल’ ब्रान्ड अन्तर्गतकै अर्को कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । यस चलचित्रमा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।

नेपाली चलचित्रमा नयाँ प्रतिभाहरूलाई अवसर दिने र बक्स अफिसमा सफल हुने क्रममा रहेको यसै परम्परालाई ‘होस्टेल ३’ ले पनि निरन्तरता दियो र अब ‘होस्टेल अगेन’ ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ । ‘होस्टेल अगेन’ छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ ।
यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्