‘माग्ने राजा’ को प्रचार सामग्रीलाई दर्शकको साथ, उत्साहमा निर्माण टिम
भदौ ६ गतेबाट रिलिज तयारीमा रहेको च्लाहित्र ‘माग्ने राजा’ का प्रचार सामग्रीले सामाजिक संजालमा राम्रो लोकप्रियता हाँसिल गरिरहेका छन्। बिशेष गरि भर्खरै सार्वजनिक गीत ‘म त सुतेर उठेको पैसामा’ मा लोकप्रियता हाँसिल गरिरहेको छ। माग्ने बुढा अर्थात् केदार घिमिरेका भिन्न स्वरूपलाइ दर्शकले उत्सुकताका साथमा हेरिरहेका छन्। जसले निर्माण टिमलाई चलचित्र प्रति झन् उत्साह थपेको स्पष्ट देखिन्छ। दर्शकले सार्वजनिक टिजर र लोकगीतमा केदारको पुरानो छवि देखेका थिए भने सार्वजनिक नयाँ गीतमा देखिएको विभिन्न स्वरूपले दर्शकको ध्यान खिच्न सफल भएको हो।

निर्देशक ऋषि लामिछानेले चलचित्रको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको बताएका छन् । ‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ । यसले गर्दा कतिपय दर्शकलाई चलचित्र पुरानै ढर्रामा त छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछानेले भने, ‘यो गीतसँगै हामी चलचित्रको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’
निर्माता मुनाल घिमिरेका अनुसार चलचित्रले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको बताएका छन् । प्रचार सामाग्रीलाइ दर्शकले रुचाएपछि उत्साहित रहेका मुनाल घिमिरे भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन् । चलचित्रमा हामीले हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ ।’
चलचित्रको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर चलचित्रलाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ । चलचित्रमा केदारको साथमा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।