चलचित्रमा आयुषको डेव्यु, ‘राम नाम सत्य’ मा विराज भट्टसंगै देखिदै


सामाजिक संजालमा आयुष सिंह ठकुरीको क्रेज शिखरमा रहेको छ। टिकटकबाट उदाएर कन्टेन्ट क्रियटरको रुपमा आफुलाई स्थापित गरेका आयुष अव चलचित्रमा देखिने भएका छन्। माइकल चन्दको निर्देशनमा तयार हुने चलचित्र ‘राम नाम सत्य’ मा आयुष अनुबन्ध भएका हुन् ।


आज चलचित्रको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । चलचित्रका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । चलचित्र साइन गरेपछि आयुषले भने–‘मलाई थुप्रै चलचित्रको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही चलचित्रबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो चलचित्रको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले चलचित्रका लागि निकै मिहिनेत गरिरहेका छन् ।’ साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ ।


चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ । उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको चलचित्रमा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने चलचित्रको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ । चलचित्रका कास्टिङ डिरेक्टर नविन जंग शाह हुन् ।

प्रतिक्रिया दिनुहोस्