केदार र दिपा व्यस्त हुँदा किन मौन छन् दीपकराज गिरि? 


नेपाली चलचित्रको इतिहासमा सर्वाधिक सफल सिरिजको रूपमा रहन्छ ,’ छक्का पन्जा’ सिरिज । यो सिरिजका ५ वटै चलचित्र सुपर हिट रहेका छन्।  व्यावसायिक हिसाबले १ अर्ब बराबरको रेकर्ड राखेको आमा सरस्वती मुभिजको ब्यानरमा बन्ने यो सिरिज यो वर्ष निर्माण हुने छैन।  दीपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपाल यो सिरिजका प्रमुख मुहार हुन्।  जितु केही समय अगाडी यो टिमबाट बाहिरिएका थिए।  ‘छक्का पन्जा ५’ पछि यो सिरिजलाई केही समय विश्राम दिने दीपकले बताएका थिए। 

 

बाहिरी ब्यानरमा ठुलो डिमान्ड भए पनि यो टिमका सदस्यले बाहिरका चलचित्र गरेका थिएनन्।  तर यति बेला भने यो टिमले बाहिरका चलचित्र धमाधम गरिरहेका छन्।  केदारले ‘जेरी अनटप’, ‘माइतीघर’ , ‘माग्ने राजा’ लगायतका चलचित्रमा काम गरिसकेका छन्।  असोज महिनासम्म यी तीनै चलचित्र रिलिज भइसक्ने छन्। 

निर्देशक तथा कलाकार दिपाश्री निरौला पनि चलचित्र अभिनयमा सक्रिय रहेकी छिन्।  दीपाले ‘बिगुल र परी’ मा काम गरिसकेकी छिन्।  निता ढुङ्गानाको निर्देशनमा तयार हुने चलचित्र ‘पार्वती’ मा दिपाले काम गर्ने पक्का भैसकेको छ। अर्जुन घिमिरे पाँडेको निर्देशनमा तयार हुने चलचित्र  ‘झरी पछिको इन्द्रेणी’ मा पनि उनले काम गर्ने पक्का पक्की जस्तै छ।  यसरी हेर्दा दिपाको हातमा अहिले ४ वटा चलचित्र रहेका छन्। 

यो विषयमा सिरिजका प्रमुख व्यक्ति मानिएका दीपकराज गिरि भने मौन रहेका छन् । उनले कुनै पनि चलचित्रमा काम गर्ने तयारीमा रहेको खबर बाहिरिएको छैन।  दीपकलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरू लालायित रहेका छन् । तर उनको मौनता कायम नै रहेको छ। अब उनले बाहिरी ब्यानरका चलचित्रमा काम गर्न हुन् वा आफ्नै सिरिजलाई अगाडी बढाउने हुन् त्यो भने समयले नै बताउला।   

प्रतिक्रिया दिनुहोस्