कर्णालीको कथामा चलचित्र ‘रेलको बाट’ बन्ने
कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा नयाँ चलचित्र ‘रेलको बाटो’ निर्माण हुने भएको छ। कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्य रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन रहनेछ।

चलचित्रको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र मुनि “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ठूलो ब्यानर देखिन्छ। उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ। चलचित्रको कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन्। चलचित्रमा निसाल पौडेलको छायांकन, सुरज पण्डितको संगीत रहनेछ।
चलचित्रले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई प्रस्तुत गर्नेछ। कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू चलचित्रको मुख्य कथा हुने जनाइएको छ।
चलचित्रलाई यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको छ।