‘परालको आगो’ जीतु नेपाल बाहिरिए, सौगात मल्ल भित्रिए


चलचित्र ‘परालको आगो’ मा सौगात मल्लको प्रवेश भएको छ। चलचित्रमा उनी ‘जुठे’ दमाई’ को भूमिकामा अनुबन्ध भएका हुन्। निर्माण टिमले बिहिबार उनलाई चलचित्रमा औपचारिक रुपमा अनुबन्ध गरेको हो। यसअघि यो भूमिकामा जितु नेपाल देखिँदै थिए । तर जितुले यो चलचित्र छाडेका छन् । जितुको स्थानमा निर्माण टिमले सौगात मल्ललाई अनुबन्ध गरेको हो।

सौगात अनुबन्धसँगै चलचित्रका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता सुशील पोखरेलको लगानीमा बन्ने चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।

चलचित्रको गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुत रहनेछन्। चलचित्रको कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण गर्न लागिएको हो। लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्रको छायांकन आगामी भदाै २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ मा आधारित भएर चलचित्र निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्