‘जलाकी’ पोष्टरमा धिरज र उपासना
धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले ‘खुस्मा’ मा रुचाए। अशोक थापामगरको निर्देशनमा तयार भएको चलचित्र व्यवसायिक हिसावले सफल बन्यो भने यहि चलचित्रबाट उपासनाले राष्ट्रिय अवार्ड मा उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् । यहि टिमको नयाँ चलचित्र ‘जलाकी’ को पहिलो चरणको छायांकन गएको चैत्र महिनामा भएको थियो। दोश्रो चरणको छायांकन असोज २१ गतेबाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ।

‘जलाकी’ मा धिरज र उपासनाको साथमा सोनाम तोप्देन मुख्य भूमिकामा रहेका छन्। यहि बीचमा निर्माण टिमले धिरज र उपासनाको दुई पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा एकमा दुवै खुशी मुद्रामामा देखिएका छन् भने अर्कोमा दुवैको नैराश्यता देखिन्छ। त्रिकोणात्मक प्रेम कहानीमा आधारित चलचित्रमा उनीहरु जोडीको रुपमा रहेको अनुमान लगाउन सकिन्छ। दुवैको जोडी हिट रहेका कारण दर्शकका लागी यो चलचित्र प्रतिक्षित रहनेछ।
मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दै रहेको चलचित्रमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) को अभिनय रहनेछ । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो चलचित्रको छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तीन चरणमा हुने निर्देशक अशोक थापा मगरले बताए ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने चलचित्रले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेका छन्। चलचित्रको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत र सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।