‘क्याप्टेन सब’ को सेटमा ३० को दशकको काठमाडौँको झल्को
दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘क्याप्टेन साब’को छायांकन यतिबेला चलिरहेको छ। काठमाडौंको तीनकुनेमा भव्य सेट तयार पारेर चलचित्रको छायांकन भैरहेको छ । प्राचिन काठमान्डौको शैली देखाउने सेटमा घरको शैली, प्रप्स, मानिसको रहनसहन र भेषभुसा उपत्यकाको परम्परागत सभ्यताजस्तो देखिने गरि तयार पारिएको छ। २०३० र ४० को दशकको सेटअप निर्माण टिमले तयार पारेको छ ।

“काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, “त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ ।” चिट गरेजस्तो नदेखिने गरी काम गरिएको उनले बताए ।
सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा ब्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।
“जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ,” निर्देशक खनालले भने, “त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ ।”

चलचित्र ‘क्याप्टेन साब’को श्रावण १० देखि छायांकन सुरु भएको छ । काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा हुनेछ ।चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् ।