सुशील र अञ्जनाको ‘परिवर्तन’ छायांकन सम्पन्न


चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सकिएको छ । दुइ गीतहरु बाहेक अन्य सबै दृश्यहरुको छायांकन सकिएको निर्माता दीपक सिवाकोटीले जानकारी दिए। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन्।

चलचित्रको छायांकन झापाका विभिन्न स्थान र विराटनगरमा गरिएको छ। चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली प्रमुख भूमिकामा रहेका छन्। चलचित्रमा गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेका हुन्। यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने बताइएको छ। निर्माता सिवाकोटीले नै चलचित्रको मूल कथा लेखेका हुन् भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। निर्माण पक्षले चलचित्र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्