‘रिमै’ टिमसंग के हो दयाको असन्तुष्टी?, शिर्ष कलाकार बिनै प्रचार सुरु
अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ्गलाई दर्शकले चलचित्र ‘कबड्डी’ मा रुचाए। पहिलो सहकार्यमा नै दर्शकको दरिलो प्रेम पाएको यो जोडी अभिनित चलचित्र ‘रिमै’ भदौ २० गतेबाट रिलिज हुँदैछ। चलचित्रको घोषणा समयमा दया र रिश्माको जोडीको कमब्याकलाई लिएर उत्साह रहेको थियो। चलचित्रको सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकको राम्रो साथ पाएको छ। तर चलचित्रको प्रमोशनमा दयाले साथ देखिएको छैन। उनले यो चलचित्रका कुनै पनि प्रचार सामग्री आफ्नो सामाजिक संजालमा शेयर गरेका छैनन्।

यसको कारण निर्माताले प्राविधिकदेखि कलाकारको पूरा पारिश्रमिक अझै तिर्न बाँकी रहेको बुझिएको छ । दयाले सबै पारिश्रमिक फर्छ्यौट नभएसम्म प्रचार नगर्ने अडान लिएर बसेका छन् । एक हिसाबले यो राम्रो पक्ष हो। काम सम्पन्न भएपछी सबैले पारिश्रमिक पाउनु सबैको अधिकार हो। अडान लिएर चलचित्र प्रमोसन नगर्दा यसको फाइदा र बेफाइदाको के होला त्यसको बहस पछि होला।

तर दया र रिश्मा बिना नै चलचित्रको टिमले प्रचार अभियान सुरुवात गरेको छ। रिश्मा अमेरिकामा भएको कारण यसको प्रमोसनमा सक्रिय रुपमा सहभागी हुन् पाएकी छैनन्। केहि दिन अगाडी ३१औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा चलचित्रका निर्देशकसहितको टिम सहभागी भयो । ‘रिमै’ को टिसर्ट लगाएर नेपाली देखि विदेशी एकसाथ र्यालीमा सहभागी भएका थिए।
उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’मा वीरवल घले कार्यकारी निर्मातामा छन् भने निर्माताहरू टीका गुरूङ, जित यात्री गुरूङ र दुनबहादुर घले हुन् । चलचित्रमा दयाहाङ र रिश्मासहित गौमाया गुरूङ, कविता आले, माओत्से गुरूङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ, असिम सुब्बा लगायतको अभिनय छ ।