चन्द्र पन्तको ‘आ बाट आमा’ मा उषा उप्रेती
म्युजिक भिडियोमा सफल मोडलको रुपमा आफुलाई स्थापित गरेकी उषा उप्रेती अव चलचित्र अभिनयमा देखिनेछिन्। उनले लगातार दुई चलचित्र सम्झौता गरेकी छिन्। केहि समय अगाडी निखिल उप्रेतीको निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘आचार्य’ मा उनि अनुबन्ध भएकी थिइन्। यो चलचित्रको छायांकन सुरुवात नहुदै उनी अर्को चलचित्रमा अनुबन्ध भएकी छिन्। चन्द्र पन्तको निर्देशनमा तयार हुने चलचित्र ‘आ बाट आमा’ मा उनी अनुबन्ध भएकी हुन्।

बुधबार उनी र चलचित्रको टीमबीच चलचित्रमा काम गर्ने सम्झौता भएको छ। उनलाई चलचित्रको एक महत्वपूर्ण भूमिकामा अनुबन्ध गरिएको बताइएको छ । यसअघि चलचित्रमा विपना थापा, पल शाह, सिमरन पन्त, दक्षिण भारतीय चलचित्रका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । चलचित्रमा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने पलले उनीहरुको छोराको भूमिका निभाउनेछन् । प्रदीप र विपनाले यसअघि ‘ह्रस्व दीर्घ’मा पनि एकसाथ काम गरेका थिए ।
द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन आगामी भदौ अन्तिमबाट सुरु गरिने जनाइएको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई आगामी फागुन १५ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।