भारतका ५० बढी हलमा एकसाथ प्रदर्शनमा आउंदै ‘होस्टेल ३’
नेपालमा प्रदर्शनको ५१ दिन पार गरेको चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ चलचित्र प्रदर्शन हुने भएको हो। भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्। नेपालमा सफल भएको चलचित्रको नेपाली भाषी बसोबास गर्ने क्षेत्रमा राम्रो माग रहेको बुझिएको छ। यसले नेपाली चलचित्रको भारतमा बजार विस्तार हुने अपेक्षा गरिएको छ।

सासन कंडेल निर्देशित चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ। क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर तयार गरिएको यस चलचित्रले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन्। निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।