कस्तो छ प्रतिक्षा गरिएको ‘बलिदान’ टिजर?
यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले चलचित्रको कथासार बुझाउने कोसिस गरेको छ। टिजरमा दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गर्ने कोसिस गरिएको छ। सन्तोष सेन निर्देशित चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्।

त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।
अभिनेत्री ऋचा शर्माका संवाद भावनात्मक सुनिन्छ। उनको डाइलगसंगै अभिनेता समिर भट्टको प्रवेश हुन्छ। उनलाई टीजरमा ‘एक्सन किङ’ को रुपमा परिचित गराइएको छ। उनको संवाद, “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सहितको शक्तिशाली दृश्यमा उनले प्रतिपक्षीलाई मुक्का प्रहार गरेको झलक टिजरको प्रमुख आकर्षण बनेको छ।
‘आसुसेन फिल्म्स प्रा. लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।