निखिल-संचिता को ‘आचार्य’ को छायांकन भारतबाट सुरु हुने
निखिल उप्रेतीको निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘आचार्य’ को छायांकनका लागी टिम भारत उडेको छ। निखिलको स्वप्न प्रोजेक्ट मानिएको चलचित्रको टिम मंगलबार भारत उडेको हो। निखिल सहित निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायाँकार मनु बिके र कलाकार तथा मुख्य सहायक निर्देशक सयनम अधिकारी काठमाडौंबाट पश्चिम बंगाल हिडेका हुन् ।

यही भदौ ६ गते शुक्रबारबाट ‘आचार्य’ को छायांकन भारतको डुअर्समा सुरु हुनेछ । त्यसपछि बागडोगरा, सिलीगुडी र लखनऊको ठाकुरगञ्जमा चलचित्रको छायांकन गरिने निखिलले बताए । दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा छायांकन गर्न लागिएको चलचित्रलाई नेपालमा पनि खिचिनेछ । ६० दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिने जनाइएको छ ।
चलचित्रमा निखिलको साथमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी, उषा उप्रेती लगायतको अभिनय रहनेछ । चलचित्रमा बलिउड र दक्षिण भारतीय केही चर्चित कलाकारहरुको पनि अभिनय रहने चर्चा छ । निखिलले ‘आचार्य’ लाई विश्वस्तरीय एक्सन चलचित्र बताएका छन् । उनका अनुसार चलचित्रमा स्काइडाइभ र प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य पनि खिचिनेछ ।