शनिबार ‘माग्ने राजा’ हलमा आक्रामक, हलमा दर्शक भेट्दै कलाकार
निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ ले अपेक्षा अनुरुप नै हलमा दर्शक फर्काएको छ । शुक्रबार बिहानीको सोमा औसत दर्शक पाएको चलचित्रले मध्यान्नको समयदेखि हाउसफुल दर्शकको साथ पाएको थियो । शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै चलचित्रले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको थियो ।

चलचित्रले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’ का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले चलचित्रले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

चलचित्रका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गर्ने गरेका छन् । जसले गर्दा दर्शकमाझ उनको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । चलचित्रका मुख्य अभिनेता केदार घिमिरे पनि आफु भुइमान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताउँछन् । त्यससँगै आगामी दिनमा अझै राम्रो चलचित्रमा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ ।
मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले मनोरञ्जन र सन्देशलाई सुन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । छक्का पञ्जा सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रुपमा चलचित्रलाई हाँकेका केदार घिमिरेको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा वर्षा सिवाकोटी , विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिएका छन् ।