१६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै रमा अर्यालले जितिन् मिसेज इन्डिया वर्ल्ड वाइड २०२५ को ताज

भारतको मुम्बईमा आयोजित मिसेज इन्डिया वर्ल्ड वाइड २०२५ को ताज रमा अर्यालले जितेकी छन् ।
श्री साई इन्टरटेन्मेन्ट प्रालिद्धारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा युगान्डाबाट सहभागी २९ वर्षीय अर्यालले १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै मिसेज इन्डिया वर्ल्ड वाइड २०२५ को ताज पहिरिएकी हुन् ।

मिसेज इन्डिया विश्वव्यापी सौन्दर्य प्रतियोगिता मात्र नभई विवाहित महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता, सांस्कृतिक सचेतना, कला र सामाजिक योगदानमा नेतृत्व विश्वव्यापी रूपमा पहिचान गराउने प्रतियोगिता हो ।
अमेरिकाको एभेनेइच युनिभर्सिटीबाट हालै मानार्थ डाक्टरको उपाधि प्राप्त अर्याल युगान्डाको कम्पालामा व्यवसायमा संलग्न छिन् । व्यवसायसँगै सामाजिक कार्यमा पनि संलग्न अर्याल गैरआवासीय नेपाली सङ्घ युगान्डाको अध्यक्ष समेत हुन् ।
प्रतियोगिताको फाइनलमा नेपालको राष्ट्रिय झन्डा उचाल्दै अर्यालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शिर उँचो पारेकी छिन् ।