दया र रिश्माको ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक
भदौ २० गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रिमै’ को दोश्रो गीत सार्वजनिक भएको छ। थानेश्वर गौतम र शारदा रसाइलीको स्वरमा रहेको छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना रहेको छ। गीतको सार्वजनिक भिडियोमा कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन् ।

यस अगाडी सार्वजनिक प्रचार सामग्रीले दर्शकको मन जितिरहेको छ र यो गीतले पनि दर्शकमा थप कौतुहलता बढाउने विस्वास रहेको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका छन्। शैलेन्द्र ध्वज कार्कीले खिचेको चलचित्रमा वीरवल घले कार्यकारी निर्माता र टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।