‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक
र्यापर भियोमाको शब्द, संगीत र स्वरमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ । जिन्दगी नै रहस्मयी रहेको बताउने र्यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । यही कथा टाइटल ट्रयाकमा छ । भिडियोमा र्यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै चलचित्रका चलअचल दृश्य छन् । टाइटल ट्रयाकले पैसाका पछाडि लाग्ने पात्रले भोग्ने समस्या र पाउने दुखमा चलचित्र रहेको थप प्रष्ट पारेको छ ।
चलचित्र भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ । ‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।