धिरज र मिरुनाको ‘मैझारो’ कार्तिक ७ मा प्रदर्शनमा आउने


विल्सन विक्रम राईको पहिलो निर्देशकीय चलचित्र ‘मैझारो’ कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको निर्माण टीमले दुई वटा पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति सार्वजनिक गरेको हो। सार्वजनिक पहिलो पोष्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोल सहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।

दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ। विल्सन विक्रम राईको कथामा बनेको चलचित्रमा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ।

चलचित्रमा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन्। चलचित्रको छायांकन सौरभ लामाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्