‘मोहर’ टिमको अफर, चलचित्र हेर्दा ‘सुनको मोहर’ उपहार


साउनको २३ गतेबाट रिलिजमा आएको चलचित्र ‘मोहर’ ले बक्स अफिसमा सुखद कमाई गर्यो। अहिलेसम्म यो बर्ष रिलिज भएका चलचित्र मध्ये बर्षकै दोस्रो हिट चलचित्र बनेको मोहर हलमा अहिलेपनि प्रदर्शन भैरहेको छ ।

अब, यसको निर्माणपक्षले चलचित्र रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ ।
देशका ४ वटा हलमा गएर चलचित्र हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, किर्तिपुरको ‘किर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।


म्याङ्गोमा चलचित्र हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा चलचित्र हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा चलचित्र हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा चलचित्र हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् । दर्शकले चलचित्रको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नुपर्नेछ । जसमध्ये, भदौको २३ गतेबाट असोजको ११ गतेसम्म चलचित्र हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।


भदौ २३ गते भन्दा अगाडि चलचित्र हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने निर्माणपक्षको भनाई छ । विजेताहरुलाई चलचित्रको ५१ दिने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने निर्माणपक्षले बताएको छ ।


ओम प्रतिकको लेखन तथा निर्देशनमा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्रले बक्स अफिसमा ५ करोड माथिको व्यापार गरिसकेको छ । पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई फिल्म मेकर्स प्रा.लिले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्