तोकिएको मितिमा नै प्रदर्शन तयारीमा तीन चलचित्र


नेपाली चलचित्र हलहरु अहिले बन्द अवस्थामा रहेका छन्। देशभर चलेको आन्दोलन र त्यसपछि सृजना भएको परिस्थितिका कारण दैनिकी असहज बनेको छ। यसको प्रत्यक्ष प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ। यसै पनि जब- जब विषम परिस्थिति आउंछ मनोरन्जन क्षेत्र बढी प्रभावित हुने गर्दछ। विषम परिस्थितिमा सबैभन्दा पहिले बन्द हुने र अन्त्यमा खुल्ने क्षेत्रमा मनोरन्जन क्षेत्र पर्दछ। चलचित्र ‘रिमै’ रिलिजको केहि दिनमा नै स्थगित भयो। अभिमन्यु र जारी २ ले आफ्नो रिलिज स्थगन गरेका छन्। यहि बिचमा दशैँको फूलपातीमा रिलिज तीन चलचित्रमा पनि अन्यौलताको स्थिति नै रहेको छ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ पर्ख र हेरको अवस्थामा रहेको छ। बन्द भएका हल चाडै संचालनमा आएमा तोकिएको मितिमा नै चलचित्र रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। परिस्थिति सामान्य बनेमा रिलिजको केहि दिन अगाडी ट्रेलर सार्वजनिक गरेर तोकिएको मितिमा नै प्रदर्शनमा आउने तयारी निर्माण टिमको रहेको छ।

माइतीघर चलचित्र पनि तोकिएको समयमा नै रिलिज हुने तयारीमा रहेको छ। केहि दिनमा चलचित्रको ट्रेलर सार्वजनिक गरेर तोकिएको मितिमा नै चलचित्र रिलिज गर्ने तयारी रहेको बताइएको छ।

बलिदान पनि तोकिएको मितिमा नै आउनेछ। निर्माता तथा निर्देशक सन्तोष शेनले चलचित्रको ट्रेलर केहि दिनमा सार्वजनिक गरेर तोकिएको मितिमा नै चलचित्र रिलिज गर्ने जानकारी केहि दिन अगाडी गराएका थिए।

दशैँको फूलपाती अर्थात् असोज १३ गते रिलिज तयारीमा रहेका तिनै चलचित्र सोहि मितिमा प्रदर्शनको लागी तयार रहेका छन्। यहि मितिमा चलचित्र ‘अभिमन्यु’ पनि आउने चर्चामा रहेको छ। जारी २ कुन मितिमा आउने अहिलेसम्म टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्