ओस्कारमा नेपालबाट ‘अञ्जिला’ छनोट
सन् २०२६ मा हुने ९८ औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) मा नेपालबाट चलचित्र ‘अञ्जिला’ छनोट भएको छ। ओस्कर अवार्ड को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।

नेपालबाट दुई चलचित्र ओस्करमा ‘गुन्यु चोलो – द ड्रेस’ र ‘अञ्जिला’ प्रतिस्पर्धा गर्नका लागी प्राप्त भएको समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको बताइएको छ। मिलन चाम्स निर्देशित चलचित्रमा दयाहाङ राई, एन्जिला सुब्बा, बुद्धि तामाङ्ग, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।