दयाहाङ र विजयको नोकझोक देखिएको ‘बरिष्ठ बलराम’ ट्रेलरलाई कस्तो छ दर्शक प्रतिक्रिया?


दयाहाङ राई र विजय बराल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बरिष्ठ बलराम’ को ट्रेलर हिजो सार्वजनिक गरियो। काठमान्डौमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन्। दया र विजयको टकराव देखाइएको चलचित्रको ट्रेलरले मन छोएको प्रतिक्रिया दर्शकको रहेको छ। प्राय चलचित्रमा सहयात्रीको रुपमा देखिने दया र विजयको द्वन्द्वले दर्शकलाई नयापनको आभाष दिलाएको छ।

खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ ।

स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको द्वन्द्व ट्रेलरमा रोचक देखिएको छ। कार्तिक ६ गते भाइटीकाबाट रिलिज तयारीमा रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् भने कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्