‘मैझारो’ प्रचारमा व्यस्त टिम, सांगीतिक कार्यक्रम देखि अटो यात्रासम्म


कार्तिक ७ गते अर्थात् भाइटिकाको भोलिपल्टबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मैझारो’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ। पुर्वका सहरबाट चलचित्रको टिमले प्रचारलाई आक्रमाक बनाएको छ। पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ भने अधिकांश इ–रिक्साका साथै अटो ‘मैझारो’ मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ।

चलचित्रका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो चलचित्रलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन्। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन्। उनीसँग राई इज किङ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै चलचित्रका मुख्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। हिजो बिहिबार धरानमा प्रचारका रुपमा व्यापक कन्सर्टको आयोजना गरिएको थियो। जहाँ हजारौ धरानबासी दर्शकको उपस्थिति रहेको थियो।

आज आफ्नै गृह जिल्लामा निर्देशक विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिदै छ। असोज २५ गते बिर्तामोडको मुक्ती चोकमा कार्यक्रम हुनेछ। निर्माण पक्षले झापाको बिर्तामोड,दमक,मोरङको बेलबारी,सुनसरीको इटहरी,धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो। सोही क्रममा आज बिर्तामोडमा कार्यक्रम हुन लागेको निर्देशक राईले बताए।

‘ मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने,‘दर्शकलाई मनोरञ्जनका साथै चलचित्र हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’ निर्देशक राईकै लगानी र लेखन रहेको चलचित्रले मौलिक प्रेम कथालाई बोल्ने छ। चलचित्रमा धिरज मगर,मिरुना मगर,दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्