नेपालगन्जमा ‘हरिबहादुरको जुत्ता’ टिम, हरिवंशसंगै चलचित्र हेर्ने दर्शकको भीड


असोज १३ गते दशैँको फूलपातीबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ हलमा यतिबेला पनि सफलताका साथमा प्रदर्शन भैरहेको छ। दर्शकको राम्रो वर्ड अफ माउथका कारण बक्स अफिसमा ४ करोड माथीको व्यापार गरिसकेको चलचित्रले रिलिजको तेश्रो सातासम्म पुग्दा पनि सम्मानजनक शो संख्या र दर्शकको साथ पाइरहेको छ। रिलिजको दिन देखि नै काठमान्डौ उपत्यकाका विभिन्न हलमा चलचित्र हेर्ने दर्शक भेट्न मुख्य अभिनेता हरिवश आचार्य सहितको चलचित्रको टिम पुगिरहेको छ। दर्शक साथ राम्रो पाएको चलचित्रको टिम यतिबेला मोफसल यात्रामा रहेको छ।

चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्य, निर्माता तथा कलाकार मोहितवंश आचार्य यतिबेला नेपालगन्ज पुगेका छन्। नेपालगन्जको सिनेरोयल हलमा विहानबाट नै दर्शकको उल्लेख्य उपस्थिति रहेको छ। अझ हरिवंश आचार्य पुगेपछि उनलाई भेट्न र उनीसंग फोटो खिचाउने दर्शकको उपस्थिति हलमा राम्रो देखिएको छ । आज नेपालगन्जका हलमा दिनभर नै हरिवंश आचार्यले दर्शक भेट्ने कार्यक्रम रहेको छ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्